वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व पञ्चमी - ५
प्रदेश अस्पताल गोरखाद्वारा सञ्चालित एकीकृत संकट व्यवस्थापन केन्द्र (OCMC) सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम २०८२ साल वैशाख १४ गतेदेखि १६ गतेसम्म गोरखा जिल्लाका विभिन्न स्थानहरूमा सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रमको पहिलो दिन, वैशाख १४ गते, पालुङटार नगरपालिका–५ स्थित भवानी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी र समुदायबीच अभिमुखीकरण सम्पन्न गरियो। दोस्रो दिन वैशाख १५ गते आरुघाट गाउँपालिका–९ स्थित भीमोदय बहुमुखी क्याम्पसमा अध्यनरत सहभागीलाई तालिम प्रदान गरियो। उक्त कार्यक्रम मा ४० जना उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा आरुघाट गाउँपलिका प्रमुख राजु गुरुङको प्रमुख अतित्थेतामा सम्पन्न गरिएको थियो । तेस्रो तथा अन्तिम दिन, वैशाख १६ गते, गोरखा नगरपालिका–१४ मा मिलिजुली आमा समुहमा उक्त कार्यक्रमा ६५ जना सहभागीहरूसहित कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा मुख्य स्रोत व्यक्ति रूपमा डा. माया गुरुङ, जनस्वास्थ्य अधिकृत नवराज खड्का, जनस्वास्थ्य अधिकृत इश्वर रेग्मी तथा OCMC स्टाफ कविता परियारले OCMC को अवधारणा, सेवा प्रवाह प्रणाली तथा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) बाट सेवा लिने तरिका सम्बन्धी विस्तृत जानकारी दिएका थिए।
स्रोत व्यक्तिहरूले OCMC मार्फत लैंगिक हिंसा, घरेलु हिंसा, बालअधिकार उल्लंघन, मानसिक स्वास्थ्य जस्ता संवेदनशील मुद्दाहरूमा कसरी एकीकृत सेवा प्राप्त गर्न सकिन्छ भन्नेबारे सहभागीहरूलाई जानकारी गराएका थिए। साथै, प्रदेश अस्पताल गोरखामा OCMC सेवा कहाँ र कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा समेत विस्तृत व्याख्या गरिएको थियो।
कार्यक्रममा प्रदेश अस्पताल गोरखाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सिद्धार्थ खनाल, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख श्री यम प्रसाद शर्मा, सामाजिक विकास कार्यालय गोरखाका प्रमुख श्री दशरथ शर्मा, अस्पताल व्यवस्थापक श्री सुनिल पन्थ, तथा मेडिकल रेकर्डर श्री तिलक आचार्यको उपस्थिति रहेको थियो।
अन्तिम दिनको कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिकाका नगर उप– प्रमुख मसली माया थोकर रहनु भएको थियो।
कार्यक्रममा सहभागीहरूले OCMC सेवा प्रणालीप्रति चासो देखाउँदै यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको बताएका थिए। प्रदेश अस्पतालले आगामी दिनहरूमा अझ धेरै स्थानमा यस्ता अभिमुखीकरण कार्यक्रम विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।