Appointment
×
गोरखा अस्पतालमा सामाजिक सुरक्षा एकाई स्थापना : लक्षित समुदायले निशुल्क उपचार पाउने

लक्षित समुदायलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले गोरखा अस्पतालमा सामाजिक सुरक्षा एकाई स्थापना भएको छ । लक्षित समूहलाई उपचारमा सहुलियत र सहजीकरण गर्ने उदेश्यले उदेश्यले संघीय सरकारले एकाई स्थापना गरेको हो । सामाजिक सेवा एकाइबाट विपन्न नागरिक, अपाङ्ग, जेष्ठ नागरिक, लैगिक हिंसा पीडित बालबालिकाले निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् । यस्तै महिला स्वास्थ्य स्वयम्सेविका, प्राकृतिक प्रकोपका कारण स्वास्थ्य समस्या भएकाहरु, शहिद परिवार, कूपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी, सिमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाती लगायतका व्यक्तिहरुले निशुल्क स्वास्थ्य सेवा पाउने जिल्ला अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । 

जिल्ला अस्पतालमा एकसाता अघिबाट एकाई स्थापना भएको हो । लक्षित समुदायका ब्यक्ति उपचारका लागि अस्पताल पुग्दा एकाईमा रहेका कर्मचारीले शुरुमा बिरामीको विवरण भर्नेछन् । आवश्यक कागजपत्र सहित विवरण भरेपछि आवश्यक उपचार प्रक्रियामा पनि एकाईका कर्मचारीलेनै सहजीकरण गर्ने ब्यवस्था मिलाइएको ढकालको भनाई छ । एउटा ब्यक्तिले एक वर्षभित्रमा बढीमा २५ हजार रुपैयासम्मको उपचार निशुलक पाउनेछन् । औषधी पनि निशुल्क पाउने ब्यवस्था गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उक्त कार्यक्रम हाल गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत कार्यान्वयन भैरहेको छ ।

मन्त्रालयले लक्षित समुदायको उपचारमा सहजीकरणका लागि चालु आर्थिक वर्ष ६ लाख रुपैया वजेट पठाएको छ । सोही वजेटबाट लक्षित समुदायका बिरामीले ५ हजार रुपैयाँ एम्बुलेन्स खर्च पनि उपलब्ध गराउने ब्यवस्था रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ ।