Appointment
×
कोरोनाको प्रभाव : गोरखा अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना

जिल्ला अस्पताल गोरखाले कोरोना भाइरसबाट हुन सक्ने सम्भावित संक्रमणलाई लक्षित गरेर आईसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालको २ वटा कोठामा आवश्यक उपकरण सहित वार्ड स्थापना गरिएको अस्पतालका जनस्वास्थ्य निरिक्षक एवम् सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो ।एसि जडित बन्द कोठामा आवश्यक औषधी, अक्सिन लगायत सामग्रीको पनि ब्यवस्थापन गरिएको उहाँको भनाई छ । जिल्लामा हालसम्म कोरोना भाइरसबाट कोही पनि संक्रमित नभेटिएको भन्दै अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बिरामी भैहालेमा उपचारका लागि सहज होस् भनेर आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।

कुनैपनि बेला संक्रमण देखिन सक्ने सम्भावनाको आँकलन गरेर थप ५ बेड थपरे आइसोलेसन वार्डलाई विस्तार गर्ने लक्ष्य रहेको उहाँको भनाई छ । बाँकी ५ वटा बेड फोहरमैला केन्द्रका रुपमा बन्दै गरेको भवनमा खडा गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।यस्तै आपतकालीन अवस्थामा उपचारका लागि अस्पतालले इमर्जेन्सी मेडिकल टिम पनि खडा गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको नेतृत्वमा मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफर,  एम्बुलेन्स चालक र प्राविधिक तथा आर्थिक क्षेत्रका कर्मचारी समेत समेटेर १७ जनाको इमर्जेन्सी मेडिकल टीम खडा गरिएको हो ।

जिल्लामा आपतकालीन अवस्था देखिएमा उक्त टीमले स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । यस्तै औषधी लगायतका सामग्रीको पनि ब्यवस्थापन गरिएको ढकालले जानकारी दिनुभयो । जटिलता आइहालेको अवस्थामा आवश्यक पर्ने औषधी र उपकरणको ब्यवस्था मिलाइएको र प्रयोगशालाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण पनि गराइएको उहाँले बताउनुभयो ।  

Source: https://choicefm.org/